Hamro Biratnagar Media Network
04 Aug 2021२० श्रावण २०७८, बुधबार

काठमाडाैंमा चल्न थाले यातायातका साधन

2021-07-06 11-07 | Hamro Biratnagar                  

A+ A A-

आजदेखि काठमाडाैंमा यातायातकाे जाेरबिजाेर प्रणाली हटाइएकाे छ । अब बस, टेम्पाे, ट्याक्सीलगायत सबै प्रकारका सवारी साधन तय गरिएकाे मापदण्ड पालना गर्दै चलाउन पाइने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । यातायात सञ्चालनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने छ ।

यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ । नलगाएमा सवारीसाधनमा छिर्नै नदिन यातायात व्यवसायीलाई भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरूपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । सवारीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ । सफा टेम्पु र तथा नीलो माइक्रोबसपछाडिको तेर्सो सिटमा चार/चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लास्टिककाे छेकबार लगाउन भनिएको छ । निजी सवारीको हकमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ । स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने छन् ।

सबै व्यवसाय खुला

आजैबाट सबै प्रकारका व्यवसाय खुला गरिएकाे छ । स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छन् । अन्य व्यवसायको हकमा साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ । त्यसो नगरेमा व्यवसाय सञ्चालनमा रोक लगाउन सकिने गरी चेतावनी दिइएको छ । अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

परीक्षाहरू सञ्चालन गर्न पाइने

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न मिल्ने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक पाइने छैन । त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्न भनिएको छ ।

के के गर्न पाइँदैन ?

गत आइतबार उपत्यकाका तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठकले २२ असारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो । यसको अर्थ निषेधाज्ञा हटेको होइन, केही खुकुलो पारिएको मात्र हो । ३१ असारसम्मलाई निषेधाज्ञा आइतबारको बैठकले थपेको थियो । सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक कायमै छ । खुला स्थानमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधि गर्न पाइने छैन । घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने छ ।


सम्बन्धित खबर