Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

एमाले बिवाद मिल्यो, कार्यदलले जुटायो ठोश सहमति

2021-07-07 06-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, असार २३ । नेकपा एमालेको बिवाद लगभग समाधानको बिन्दुमा पुगेको छ । पार्टीभित्रको बिवाद समाधान गर्न गठित कार्यदलको आजको बैठकमा ठोश सहमतिसहित बिवाद समाधानको बिन्दुमा पुगेको हो ।

कार्यदलका एक सदस्यले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार आजको बैठकमा बिवाद समाधानका सवै पक्षमा सहमति जुटेको छ । बैठकले कार्यदलमा भएको सहमतिलाई एकीकृत प्रस्तावका रुपमा ल्याउन उपाध्यक्ष भीम रावल र उपमहासचिव बिष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ । बैठकपछि कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले विवादका विषयमा लगभग सहमति जुटेको बताउनु भयो । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच बालुवाटारमा भएको बार्तापछि ब्यूँतिएको कार्यदलका नेताहरु लगातार तीन दिन छलफलमा बसेपछि सहमतिमा पुगेका हुन ।

‘लगभग सहमति जुटेको छ, अव एकता भाँडन कसैले सक्ने अवस्था छैन,’ बैठकपछि कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जनताटाइम्ससंग भन्नुभयो । उहाँले सवै नेता कार्यकर्ताको दवावको परिणाम एमाले एकढिक्का बन्ने अवस्थामा पुगेको जानकारी पनि दिनुभयो । कार्यदलका अर्का सदस्य एमाले सचिव प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख भएको बताउनु भयो । ‘कार्यदलका तर्फबाट नेताहरुसँग परामर्श गर्ने, उहाँहरुका भावनाहरु बुझ्ने कुराहरु पनि भईरहेको छ,’ ज्ञवालीले भन्नुभयो, ‘कार्यदलभित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।’

एमाले सचिव गोर्कण विष्टले पनि विवादित मुद्दाहरूमा झन्डै–झन्डै निष्कर्षमा पुगेको बताउनु भयो । ‘जुन–जुन मुद्दाहरूमा विवाद देखापरेको थियो, ती मुद्दामा समाधान खोज्ने सन्दर्भमा झन्डै–झन्डै निष्कर्षमा पुगिरहेका छौँ,’ बिष्टले भन्नुभयो, ‘एउटा छोटो अवधिमा हामीले समस्याहरूको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्ने कुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ ।’

विष्टले छलफल भइरहेको र टुंगोमा पुग्न लागेको विषयको पनि संकेत गर्नुभयो । ‘अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा (एमाले) फर्किइसकेपछि पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई पूर्ववत अवस्थामा फर्काएर क्रियाशील बनाउने नेकपा (एमाले) केन्द्रीय कमिटीको सन्दर्भमा, संख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा (माओवादी) को तर्फबाट नेकपा (एमाले) मा एकताको सन्दर्भमै रहनुभएका साथीहरूको व्यवस्थापन गर्ने विषय र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमति खोज्नुपथ्र्याे त्यो सन्दर्भमा धेरै हिसाबले नजिक आइपुगेका छौँ,’ बिष्टले भन्नुभयो ।

संस्थापनको तर्फबाट कार्यदल संयोजक रहनुभएका नेता सुवास नेम्वाङले पनि आजको छलफल गम्भीर र सकरात्मक भएको भन्दै सहमतिको प्रष्ट संकेत दिनुभयो । नेम्वाङका अनुसार सहमतिमा पुग्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललगायतसँग कार्यदलको तर्फबाट छलफल गर्ने निर्णय पनि भएको छ ।

‘अहिले जे जति तयारीहरू भएका छन्, त्यसमा टुंगोमा पुग्न आज दिनभर आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुग्यौँ, तयारीको सिलसिलामा विभिन्न तहमा भएका प्रयासहरू समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरू पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैसँग कुरा गर्दै, उहाँहरूको समेत ‘फिडब्याक’ लिएर हामीले टुंगोमा पुग्ने प्रयासहरू गरेका छौँ । त्यो समेतलाई ध्यानमा राख्दा आजको समय हामीले चाहिने आवश्यकता महसुस गर्यौँ र आज साँझसम्ममा ती सबै काम भइसक्छन,’ नेम्वाङले भन्नुभयो । उहाँका अनुसार बिहीवार बिहान ११ फेरि छलफलमा बस्ने निर्णय आजको बैठकमा भएको छ ।

एमालेमा बिवाद मिलाउने कार्यदल सक्रिय भएसँगै बरिष्ठ नेता नेपाल बिपक्षी गठबन्धनको बैठकमा जान छाडनु भएको छ । कार्यदलको आजको बैठकमा लगभग सवै सहमति जुटाएरु दुई नेतालाई एकीकृत प्रस्ताव ल्याउन जिम्मा दिएपछि अव एमालेको बिवाद समाधान हुने टुंगो भएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय