Hamro Biratnagar Media Network
25 Jul 2021१० श्रावण २०७८, आईतवार

रतुवा पुल जोड्ने सडक बाढीले बगाएपछी ओहोरदोहोरमा समस्या: १० मिनेटमा पुगिने बाटो दुई घण्टा लाग्छ, ५० किलोमिटर घुमेर जानुपर्ने बाध्यता (भिडियो रिपोर्ट सहित)

2021-07-12 01-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, २८ असार । धेरै वर्षको पर्खाइपछी बनेको रतुवापुलबाट आहोर दोहोर सुरु भएपनी पुलहुँदै जाने सडक यस वर्ष फेरी बाढीले बगाएपछी जनतालाई ओहोर दोहोरमा समस्या भएको छ । मोरङको रतुवामाई नगरपालिका–३ महादेवा स्थित रतुवा पुल जोड्ने सडक खोलाले बगाएपछी समस्या भएको हो ।

हुलाकी राजमार्गअन्तर्गत झापाको गौरीगञ्ज र मोरङको रतुवामाई जोड्ने रतुवा खोलाको पुल खोलाको चौडाई भन्दा सानो भएपछि निर्माण थालेको १२ वर्षसम्म सञ्चालनमा आउन सकेको थिएन । पुल निर्माण सम्पन्न भएपनी खोलाले धार परिवर्तन गर्दा सो पुल प्रयोग हुन सकेको थिएन । गत वर्षको हिउँदमा झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाइ नगरपालिकाले पुल सञ्चालनका लागि दुवैतर्फ माटोको डिल बनाएर बाटो बनाएपछि पुलबाटै ओहरदोहर गर्न सहज भएको थियो । तर, गत वर्षको बर्खामै आएको बाढीले उक्त बाटो बगाइदियो । र वर्खाभरी सो पुलबाट ओहरदोहर हुन सकेन ।

यसपालि बर्खा सुरु अगाडी हिँउद महिनामै फेरी माटोको डिल बनाएर पुल सुचारु गरियो । तर, पूल बाट ओहर दोहर गर्न सक्ने गरी अस्थायी रुपले बनाइएको बाटो केही दिन अघि आएको बाढीले बगाएपछि फेरी समस्या उस्तै भएको छ । बाढीले बगाएर सडक अवरुद्ध भएपछी यतिबेला सो ठाउँबाट झापा–मोरङ सम्पर्क विच्छेद भएको स्थानीय प्रकाश चन्द्र दासले बताए ।

केही दुई वर्ष अघिसम्म बर्खा लागेसँगै सो खोलामा डुंगा चल्ने गरेको थियो । अस्थायी सडक बनाएर हिँउद महिनामा पुलबाटै आहोरदोहोर हुन थालेपछी गत वर्षदेखि डुंगासमेत चल्न नसकेको रतुवामाई–३ का कमलप्रसाद राजवंशीले बताए । उनले अहिले मात्र नभई वर्षेनी वर्खा याममा स्थानीयलाई वारिपारि गर्न समस्या भएको बताए । राजवंशीका अनुसार महादेवा स्थित रतुवापुलबाट झापाको गौरीगञ्ज केवल १० मिनेटमै पुग्न सकिन्छ । तर, अहिले बाढीले बाटो बगाएका कारण उर्लाबारी, दमकहुँदै झण्डै २ घण्टाको बाटोबाट गौरीगञ्ज पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले रतुवामार्ईमा प्रत्येक वर्ष बाढीले ठुलो धनजनको क्षती हुँदै आएको बताए । उनले बाढीका कारण बर्खायाममा वर्षेनी रतुवा खोलाबाट ओहोदोहोर गर्न नसक्ने अवस्था रहँदै आएको बताए । उनले अर्को वर्षदेखि यस्तो समस्या नरहने र अबको केही महिना भित्रमा सो पुल सँधैका लागि सुचारु गर्ने गरि काम सुरु हुने बताए ।

रतुवा खोलामा आउने बाढीका कारण प्रत्येक वर्ष धनजनको ठुलो क्षती हुँदै आएको छ । प्रत्येक वर्ष वर्खा सुरु भएसँगै पुल भएपनि सो सकडबाट महिनौँसम्म ओहर दोहर गर्न नपाउनु स्थानीयका लागि अत्यन्त दुखद विषय हो । करोडौँ रुपैयाँको लगानीमा बनिएको पुल निर्माणमा गरिएको लापरवाहीले स्थानीयले वर्षेनी सास्ती खेप्न बाध्य छन् । यस पुलको समस्या समाधन गरिए स्थानीय जनतालाई ठुलो राहत हुनेछ । त्यसर्थ दिर्घकालिनरुपमा सो पुलको समस्या समाधान गर्न जरुरी रहेको स्थानीय श्रवणकुमार मण्डलले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय