Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

मोरङमा जोर–बिजोरको नियम हट्यो, के गर्न पाइन्छ ? के पाइदैँन ?

2021-07-13 05-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर : मोरङमा आजबाट सार्वजनिक गाडी सञ्चालन हुने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको नेतृत्वमा हिजो बसेको बैठकले आजदेखि सबै प्रकारका सार्वजनिक गाडीलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मोरङमा जोर–बिजोरको नियम हटेको छ । अघिल्लो निषेधाज्ञामा भने जोरबिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने जनाइएको थियो ।

यस्तै, होटल रेष्टुरेन्टहरू पनि शर्तसहित खुला गरिएको छ । निषेधाज्ञा अवधिमा खुला हुने रेष्टुरेन्टमा सभा–सम्मेलन, विवाहजस्ता धेरै मानिस भेला हुने कार्य गर्न भने रोक लगाइएको छ ।

यसैगरी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसल, कपडा पसल, सुन चाँदी पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, डण्डी, विद्युतीय सामाग्री विक्री गर्ने पसल लगायत सबै प्रकारका पसल, व्यवसायहरू बेलुका ८ः०० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघिको निषेधाज्ञामा ६ बजेसम्म खोल्न पाइने आदेश थियो ।

तर, गुद्री बजार, हाट बजार, सब्जीमण्डी, पार्टी प्यालेस सञ्चालन गर्न पाइने छैन भने जिमखाना, स्वीमिङ पुल, सिनेमा हल, व्यायामशाला, फुटसल, रंगशाला, कभर्ड हल हाललाई सञ्चालन रोक लगाइएको छ ।

जिल्लाभरिका सबै स्थानमा बेलुका ८ः०० बजेदेखि विहान ५ः०० बजेसम्म हिँडडुल रोक लगाइएको छ भने सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ्ग सेन्टर, विश्वविद्यालयहरू सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशी नागरिकको प्रवेश निषेध गरिएको छ भने समूह जमघट भै गरिने विवाह तथा ब्रतबन्ध जस्ता सामाजिक कार्यहरू पनि नगर्ने आदेशमा जनाइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय