Hamro Biratnagar Media Network
24 Jul 2021९ श्रावण २०७८, शनिबार

यस्तो रह्यो यो साताको शेयरबजार, नेप्से तीन दिनमा १ सय २८ अंकले वृद्धि

2021-07-22 04-07 | Hamro Biratnagar                  

A+ A A-

काठमाडौं, ७ साउन । यो साता शेयरबजार चार दिन मात्रै खुलेको छ । चार दिन मात्रै कारोबार भएको बजारमा ३ दिन नेप्से बढेको छ भने एक दिन घट्न पुगेको छ । बढेको तीन दिनमा भने नेप्सेले छलाङ मार्न सफल बनेको हो । यो तीन दिनमा नेप्से १ सय २८ अंकले बढेको छ ।

आइतबार, सोमबार बजार हौसिएको थियो भने मंगलबार सामान्य अंकले बजार ओरालो लागेको थियो । बुधबार बन्द रहेको नेप्से अन्तिम दिन बिहीबार भने १८ अंकले बढ्न पुगेको छ ।

बिहीबार नेप्से सूचक १८ दशमलव ७५ अंकले बढेर ३ हजार ४  दशमलव ३१ अंकमा पुगेको छ । योसँगै सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०६ अंकले बढेर ५ सय ६२ दशमलव २४ अंकमा पुगेको छ ।

यो साता यो रेकर्ड सोमबार नै तोडिएको थियो । सोमबार कारोबारको समयमा नै नेप्से ३ हजार ३२ को उचाइमा पुगेर तल झर्न पुग्यो । त्यसयता ३ हजार वरिपरि नै नेप्से सीमित बन्न पुग्यो ।

समग्रमा भन्नुपर्दा यो हप्ता १ सय २८ अंकले बढेको बजार शेयरबजारका लागि सुखद नै बन्न पुग्यो भने कारोबारमा आएका अधिकांश कम्पनीका लगानीकर्ताले राम्रै आम्दानी गर्न सफल बने ।

कुन दिनको बजार कस्तो ?

आइतबार

साताको पहिलो दिन अनि चालु आर्थिक वर्षको कारोबारको पहिलो दिन नेप्से सूचक ९७ अंकले बढ्न पुग्यो । अघिल्लो हप्ता राताम्मे बनेको बजार यो साताको पहिलो दिन नै हरियो बन्न पुग्यो । यो दिन नेप्से सूचक ९७ अंकले बढ्दा २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँमा कारोबार भएको भयो ।

नेप्सेसँगै कारोबार पनि बढ्न पुग्यो भने उपसमूहअन्तर्गतका सबै समूहका सूचक हरियाली बन्न पुगे । जसमा विकास बैंकको सूचक सबैभन्दा धेरैले बढेको छ । यसको ५ दशमलव ०५ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक, जीवन बीमा, लघुवित्तलगायत समूहका सूचकहरू पनि उल्लेख्य मात्रामा बढ्न पुगेका हुन् ।

आइतबार १ सय ७४ कम्पनीको शेयरमूल्य बढ्दा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ कम्पनी, हिमालयन पावर पार्टनर र सिँगटी हाइड्रोपावरले १० प्रतिशतले शेयरमूल्य बढाउन सफल बने ।

गुमाउने कम्पनीमा ८ कम्पनी अगाडि छन् । जसमा अरुण भ्याली हाइड्रो, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिप्रपोज फाइनान्स, नारायणी विकास बैंक, राधि विद्युत् कम्पनी, रिडि हाइड्रोपावर र माथिल्लो तामाकोशी थिए ।

सोमबार 

लगातार एक सातादेखि उक्लिएको शेयर बजार सूचकले सोमबार २५ करोबार दिनयताकै उच्चतम विन्दु भेटेको छ ।

नियमित कारोबार सुरु भएको ६ मिनेटमै नेप्से सूचक ३०३२ दशमलव २५ विन्दुसम्म पुगेको थियो । त्यसपछि केही बेर घटे पनि आधा घन्टापछि पुनः यसले ३०३० को विन्दु पार गर्‍यो । यससँगै नेप्से जुन १६ पछि पहिलो पटक ३००० को विन्दुमाथि पुगेको हो । समग्रमा उतारचढावपूर्ण स्थितिबाट गुज्रँदै यो दिन नेप्से १३ अंकले बढ्न पुग्यो ।

यस दिन ११ अर्बको कारोबार हुन पुग्यो भने कारोबारमा आएका ९४ कम्पनीले कमाए भने ८४ कम्पनीले गुमाए । यो दिन दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

मंगलबार

आइतबार र सोमबार दुई दिन बढेको बजारमा मंगलबार भने करेक्सन आयो ।  दुई दिन बढेको बजारपछि लगानीकर्ता सर्टटर्म प्रोफिट बुक गर्नतर्फ लाग्दा बजार ९ दशमलव ०१ अंकले घटेर २९८५ दशमलव ६७ अंकमा पुग्यो ।

मंगलबार २ सय १९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँमा कारोबार हुन पुग्यो ।

यो दिन ६७ कम्पनीले शेयरमूल्य बढाउन सफल बनेका छन् भने १ सय ११ कम्पनीले शेयर मूल्य गुमाउन पुगेका छन् । बाँकी पाँच कम्पनी भने स्थिर नै रहन पुगे । कमाउनेमा भने लक्ष्मी उन्नति कोश र लक्ष्मी इक्विटी फण्डको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बुधबार

यो दिन इद पर्व परेकाले कारोबार बन्द रहन पुग्यो ।

बहीबार

साताको सुरुवात नै हरियाली भएको नेप्सेमा साताको बिदाइ पनि हरियालीले नै भएको छ । अर्थात् आइतबार ९७ अंकले बढेको बजारमा बिहीबार १८ अंकले नेप्से बढेको छ । बिहीबार १८ दशमलव ७५ अंकले नेप्से बढ्दा २ सय २२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १६ रुपैयाँको कारोबार हुन पुग्यो ।

यो दिन बैंकिङ, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्डका सूचक बढेका छन् भने व्यापार, होटल एण्ड टुरिज्म, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी समूहका सूचक घट्न पुगे ।

कारोबारमा आएका मध्ये ९१ कम्पनीको शेयरमूल्य बढ्दा ८६ कम्पनीको शेयरमूल्य घट्यो । बढ्नेमा लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रो र ङादी ग्रुप पावर कम्पनी छन् । यी तीनवटैको सकारात्मक सर्किट लाग्न पुग्यो ।

कारोबारका आधारमा भने कृषि विकास बैंक अगाडि छ । यो बैंकको सबैभन्दा धेरै ४६ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय