Hamro Biratnagar Media Network
05 Aug 2021२१ श्रावण २०७८, बिहीबार

सुनवर्षीमा सुरक्षित नागरिक आवास कार्यक्रममा मेयरको मनोमानीः वडाले सिफारिस गरेका अति विपन्न परिवार परेनन्, हुनेखाने कांग्रेस कार्यकर्ताका परिवार छनौट (भिडियो रिपोर्ट सहित)

2021-07-23 01-07 | Hamro Biratnagar                  

A+ A A-

विराटनगर, ६ असार । राज्यले विपन्न परिवारलाई दिने सुविधामा पनि कतिसम्मको राजनीति हुने गर्छ भन्नेकुरा दक्षिणूर्वी मोरङको सुनवर्षी नगरपालिकामा देख्न सकिन्छ । विपन्न परिवारका लागि संघिय सरकारको सशर्त अनुदानमा सञ्चालीत सुरक्षित नागरिक आवास कार्यक्रममा सो नगरपालिकामा चरम राजनीति गरेको पाइएको छ ।

 

फुसको छानो भएका परिवारलाई टिनको छानोसहितको घर निर्माण गरिने सो कार्यक्रम अन्तर्गत सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दासले कार्यविधि विपरित वडा कार्यालयलाई समेत वाईपास गरेर विपन्न परिवारले पाउने सुविधामा समेत राजनीति गरेका हुन् । दास नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

 

सिंगो नगरपालिकाको अभिभावक भएकाले पार्टी भन्दा माथि उठेर मापदण्ड अनुसार अति विपन्न परिवारलाई प्रथामिकतामा राखेर सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गतको सुविधा दिनुपर्ने हो । तर, मेयर दासकै ठाडो निर्देशनमा हुनेखाने, सम्पन्न र सक्षम भएपनि नेपाली कांग्रेसका कार्यकर्ता रहेको परिवार मात्र छनौट गरिएपछि वाडावासी आक्रोशित बनेका छन् ।

 

मेयर दासकै घरसमेत रहेको सुनवर्षी नगरपालिका–७ वरडंगामा फुसको घर रहेका अति विपन्न परिवारलाई टिनको छानो सहितको घर निर्माण गरिनुपर्ने भएपनि आर्थिकरुपले सम्पन्न परिवार छनौट गरिएपछि नगरपालिका, वडाका जनप्रतिनिधि र स्थानीयबिच विवाद चुलिएको छ।

असाहय, अतिविपन्न, अपाङगता भएका व्यक्तिको परिवरलाई उक्त सुविधा दिन वडा कार्यालयले नाम छनौट गरेर सिफारिस गरेको भएपनि सो नाम बमोजिम एक जना पनि नपरेपछि विवाद चुलिएको हो ।

 

विहान बेलुका हातमुख जोर्न समेत समस्या रहेका कारण फुसकै घरमा जेनतेन बस्न बाध्य अति विपन्न परिवारलाई वडाले छनौट गरेको वडाध्यक्ष प्रकाश यादवले बताए । उनले सो बमोजिम नगरि म नगरपालिकाले मेयर दासको ठाडो निर्देशनमा आर्थिक रुपले सम्पन्न रहेका कांग्रेस कृयाशिल सदस्यहरुको परिवार मात्र छनौट गरेको आरोप लगाए । वडाध्यक्ष यादवले वडाको सिफारिस लत्याएर स्थानीय कांग्रेसकै अगुवा कार्यकर्ता मार्फत मेयर दासले अर्को नामावली संकलन गर्न लगाएको र वडाले सिफारिस गरेका एक जना पनि नपारेको बताए ।

 

वडाध्यक्ष यादवका अनुसार वडा समितिले घर–घरमै पुगेर अति विपन्नलाई मात्र प्रथामिकतामा छनौट गरेर नामावली पठाएको थियो । तर, मेयर दासले वडाले सिफारिस गरि पठाएको सवै नाम हटाएर आफ्ना कार्यकर्ताले छानेको नाम मात्र पार्न लगाएकाले सो विरुद्ध कानुनी प्रकृयामा जाने समेत चेतावनी दिएका छन् ।

 

स्थानीय शम्भु सिंह बेसाहारा छन् । उनले गाउँभरी मागेरै जिविको पार्जन गर्दै आएका छन् । शारिरिकरुपमा अपाङगता वरण गरेका उनी एउटा सानो फुसको टहरामा बस्छन् । वडा कार्यालयले सुरक्षित नागरिक आवस कार्यक्रम अन्तर्गत टिनको छानोसहितको घर निर्माणका लागि उनको नाम सिफारिस गरेर त पठायो तर पर्न सकेन ।

 

आफु एक्लो बेसाहारा भएपनि नगरपालिकाले हुने खाने मान्छेलाई मात्र दिने रहेछ भ्नदै उनी भक्कानिए । उनले धनसम्पत्ति प्रयाप्त हुने परिवारलाई नगरपालिकाले छनौट गरेको तर आफुलाई छाँटिदिएको गुनोसो गरे ।

 

स्थानीय तिल्ना ऋषिदेवको परिवार मकैको ढोँड र त्रिपालले छाएर बनाइएको टहरामा परिवार बस्दै आएको छ । उनलाई पनि सुरक्षित नागरिक आवास अन्तर्गत वडाले सिफारिस गरेको थियो तर नगरपालिकाको सुचिमा भने आफ्नो नाम नपरेको उनको गुनासो छ ।

 

स्थानीय लिला गन्गाई शारिरिक रुपमा अशक्त छिन् । उनको आर्थिक अवस्था दयनिय देखेर उनलाई पनि वडा कार्यालयले सिफारिस गरेर नाम पठाएको थियो । तर, नगरपालिको सूचीमा भने आफ्नो नाम पर्न नसकेको उनले बताइन् ।

 

उनीहरु त उदाहरण मात्र हुन् । वडा कार्यलयले उनिहरु जस्तै अतिविपन्न दलित, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति र असाहय व्यक्तिलाई वडाले छनौट गरेपनि मेयर दासको ठाडो दिर्नेशनमा उनीहरुको नाम छनौट नगरी आर्थिक रुपले निकै सम्पन्न परिवारलाई छानेको गुनासो उनीहरुले गरेका छन् ।

 

त्यसो त फुसको छानो भएका अति विपन्न परिवारलाई छनौट गरिनुपर्नेमा आर्थिक रुपले सवल, पक्कि घर भएका र प्रसस्त जग्गा जमिन समेत भएका व्यक्तिहरुलाई छनौट गरिएपछि स्वयं कांग्रेस कार्यकर्ताहरुनै पनि मेयर दासदेखि रुष्ट बनेका छन् ।

 

स्थानीय कांग्रेसका कृयाशिल सदस्इ मो. जाकिरले अति विपन्न परिवारलाई उक्त सुविधा दिनुपर्ने भएपनि आस्थाकै आधारमा हुने खाने परिवारलाई दिनु गलत भएको बताए ।

 

सुनवर्षी नगरपालिका–७ का वडा सदस्य जवुनाप्रसाद दासले नगरपालिकाकै पत्रका आधारमा वडा कार्यालयले अति विपन्न परिवारलाई सिफिरिस गरि पठाएको तर एउटै परिवारको समेत नाम नगरपालिकाले नपारेको भन्दै आक्रोश व्यक्त गरे ।

 

उनले वडाबाट सिफारिस एउटै पनि नाम नपरेको बताउँदै वडाको सिफारिसमाथि हस्तक्षेप गरेर नगरपालिकाले आफ्ना आसेपासे र कार्यकर्ताहरुलाई छनौट गरेको दावी गरे । वडा सदस्य दासले वडाको अधिकार नगरपालिकाले खोसेको आरोप लगाए ।

 

यता सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दासले भने उल्टै वडा कार्यालय माथि आरोप लगाएका छन् । उनले दुई पटक पत्र पठाएपनि वडा कार्यालयले सिफारिस गरेर नाम नपठाएपछि नगरपालिकाबाटनै नाम संकलन गरेर छनौट गरिएको दावी गरे ।

 

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेले मापदण्डनै अस्पष्ट रहेको बताए । उनले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो भएको घरलाई टिनको छानोमा रुपान्तरण गरिने मापदण्डमा उल्लेख भएकाले फुसको छानो भएका जुनसुकै परिवार पनि छनौटमा पर्न सक्ने दावी गरे । उनले वडाले सिफारिस गरेका सवै नाम नपरेपनि केही नामहरु परेको बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय