Logo

अघोषित लोडसेडिङको मारमा विराटनगरवासी, विना सुचना झ्याप्प—झ्याप्प लाइन काटिन्छ

Logo 2021-08-08 02-08    Hamro Biratnagar

विराटनगर, २४ साउन । पछिल्लो केही महिना यता विराटनगरवासी अघोषित लोडसेडिङको मारमा परेका छन् । पछिल्लो समय सूचना बिनै घण्टौंसम्म विद्युतप्रवाह अवरुद्ध हुनेक्रम शुरुहुँदा सर्वसाधारणले अघोषित लोडसेडिङको मार खेप्नु परेको छ । जेनेरेटर,ब्याट्री तथा इन्र्भटर बिकाउन सेटिङमा अघोषित लोड सेडिङ गर्न थालेको उपभोक्ताहरुले आरोप लगाएका छन ।

प्रदेश राजधानी विराटनगर महानगरपालिकाका साथै आसपासका क्षेत्रहरुमा दैनिकैजसो घण्टौं लाईन जाने समस्या बढदै गएको छ । दैनिक जसो जाने लाईन घण्टौंसम्म नआउने तथा अन्य समयमा छिनछिनमा झ्याप्प–झ्याप्प जानेआउने समस्या देखिएको छ ।

यस्तो समस्या बढदै जाँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विद्युतको अनियमितताका कारण विद्यार्थीहरुको पठनपाठनका साथै सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।

लाइन जाने समस्याले निरन्तरता पाउदा अघोषितरुपमा लोडसेडिङ फेरी फर्किएको हो कि भन्ने आभाष हुन थालेको विराटनगरका स्थानीय दिनेश कोइरालाले बताए ।

बैकल्पिक उर्जाका निम्ति प्रयोग हुने जेनरेटर,ब्याट्री र इन्र्भटर लगायतका उपकरण बिकाउन सेटिङ मिलाएर लोडसेडिङ गरिएको हुनसक्ने उनको आरोप छ ।

पछिल्लो केहि महिनायता लाईन नगएको दिन औंलामा मात्र गन्न सकिने स्थानियले बताएका छन । छिनछिनमा र लगातार लाइन जाने समस्याका कारण सर्वसाधारण मात्र नभई उद्योगीहरु समेत आजित भएका छन ।

दैनिक लाईन जाने समस्याका कारण उद्योगमा कच्चा पदार्थ नष्ट हुनुका साथै उत्पादन लागत बढन गएर उद्योग नै धराशायी बन्ने अवस्थामा पुगेको मोरङ व्यापार सँंघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले सुचनाविनै दिनका दर्जनौँ पटक लाइन काटिने गरेको बताए । उनले घरेलु तथा साना उद्यमीहरुले व्याकअपका लागि ठुलो मेसिन जडान गर्न नसक्ने र विजुलीकै भर पर्दै आउनुपरेका कारण लाइन काटिँदा समस्या भएको गुनासो गरे ।

महानगरपालिकासहित आसपासका क्षेत्रमा प्राधिकरणको विराटनगर वितरण केन्द्रले विद्युत आपुर्ति गर्दै आएको छ । केन्द्रले विराटनगर महानगरपालिकाका साथै ४ वटा गाउँपालिकाहरु कटहरी, ग्रामथान, बूढीगंगा र जहदा गाउँपालिकामा समेत विद्युत प्रवाह गर्दै आएको छ ।

अघोषित लोडसेडिंङका कारण सर्वसाधारणले सास्ती पाईरहँदा प्राधिकरणको विराटनगर शाखाले भने त्यसप्रकारको कुनै समस्या नरहेको बताएको छ । दैनिक लाइन जाने कुरामा सत्यता नरहेको नेपाल प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश गोहिबारले दाबी गरे ।

महानगगर सहित केन्द्रले प्रवाहगर्ने क्षेत्रमा ९५ मेगावाट विद्युतको आवश्यकता पर्ने गरेको छ ।

हाल विद्युतको उपलब्धतामा कुनै प्रकारको समस्या नरहेपनि मर्मत सम्भार लगायतको कारण देखाएर प्राधिकरणले लाईन काट्ने गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?