Logo

विराटनगरका विद्यालयलाई अनलाईन कक्षाको ५० प्रतिशत मात्र शुल्क लिन महानगरको निर्देशन

Logo 2021-08-08 05-08    Hamro Biratnagar

फाइल तस्वीर

विराटनगर, २४ साउन। विराटनगर महानगरपालिकाले अनलाईन कक्षाको ५० प्रतिशत मात्र शुल्क लिन विद्यालयहरुलाई निर्देशन दिएको छ । विराटनगरका सवै संस्थागत विद्यालयलाई पत्र काट्दै महानगरपालिकाले मासिक शुल्कको ५० प्रतिशत नबढ्ने गरी शुल्क लिन निर्देशन दिएको हो ।

नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले संस्थागत विद्यालयहरुलाई पत्रचार गर्दै कोरोना महामारीका कारण अभिभावकहरुले रोजगारी गुमाउनुपरेको र आर्थिक अभावमा गुजारा गरिरहनु परेको परिस्थतीका कारण अनलाइन पठन पाठन सञ्चालन गर्ने विद्यालयहरुले अभिभावकहरुको सहमतिमा शुल्क निर्धारण गर्न वा मासिक शुल्कको ५० प्रतिशत नबढ्नेगरि शुल्क लिन निर्देशन दिएका हुन् ।

त्यस्तै महानगरले आगामी साउन ३१ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को परिक्षा शुल्क (फिस) नतिरेका कारण विद्यार्थीलाई परिक्षाबाट बञ्चित नगराउन समेत निर्देशन दिएको छ ।

अभिभावक एवम विद्यार्थीहरुले केही दिन अघि संयुक्त रुपमा महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । सोही बमोजिम महानगरपालिकाको साउन २० गते बसेको बैठकले गरेको निर्णयका आधारमा नगर शिक्षा अधिकारी खतिवडाले विद्यालयलाई पत्रचार गर्दै निर्देशन दिएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?