Logo

कैलालीमा दुई थान बन्दुकसहित दुई जना पक्राउ

Logo 2021-08-10 01-08    Hamro Biratnagar

कैलालीबाट दुई थान हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका वडा नम्बर ९ का ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट १२ बोर एक थान, त्यसमा लाग्ने कार्टिज एक, प्वाइन्ट टुटु थान एक र सो मा लाग्ने गोली १० राउन्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

बरामद १२ बोर र त्यसमा लाग्ने कार्टिज चौधरीको तथा प्वाइन्ट टुटु र सोमा लाग्ने गोली शाहको रहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा जाँचका क्रममा बा. १७ च. १३१२ नम्बरको जिपमा लुकाई राखेको अवस्थामा बन्दुक र गोली बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ गइरहेको जिप खानतलासी गर्दा बन्दुक र गोली बरामद भएको थियो।

गाडीमा चौधरी, शाहका साथै धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल, कैलारी गाउँपालिका वडा नम्बर ९ का ३३ वर्षीय योगेन्द्रबहादुर देउवा सवार थिए।


लोकप्रिय छुटाउनुभयो कि ?