Logo

खोपको लाइनमा बस्दा बेहोस भएका जिल्ला कारागार मोरङका एक कैदीको अस्पताल पुग्नासाथ मृत्यु

Logo 2021-08-18 03-08    Hamro Biratnagar

विराटनगर : जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ। मंगलबार दिउँसो स्वास्थ्य कार्यालय मोरङले कारागारमा कोभिड १९ विरुद्धको खोप लगाउने कार्यक्रम राखेको थियो।

खोप लगाउन कैदीबन्दी लामबद्ध भएर बसेका थिए। सोही लाइनमा मोरङ रतुवामाइ नगरपालिका-५ का ५२ वर्षीय धनबहादुर गुरुङ पनि थिए।

खोप लगाउनुभन्दा अगाडि उनी बेहोस भएर ढले। तत्काल उपचार गर्न कोशी अस्पताल पुर्‍याउँदा उपचारको क्रममा मृत्यु भएको मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिए। मृतक गुरुङ दीर्घ रोगी रहेको र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै आएको बताइएको छ।

जवरजस्ती करणी मुद्दामा गुरूङलाई मोरङ अदालतले १० वर्ष कैद सजायको सुनाएको थियो। उनी २०७४ वैशाख ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए। मंगलबार कारागार भित्र ७ सय १५ पुरूष र १७ जना महिला गरि ७ सय ३२ जना कैदीबन्दीले कोभिड १९ विरूद्धको खोप लगाएको जेलर पोखरेलले जानकारी दिए।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागरामा सोमबार पनि एक जना कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको थियो। लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै आएका धरानका ३० वर्षीय सुवास लिम्बूको कोशी अस्पतालमा मृत्यु भएको जेलर पोखरेलले बताए। मोरङ कारागारमा २ सय ५० जना क्षमताको भए पनि अहिले ९ सय ३७ जना कैदीबन्दी रहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?