Logo

विराटनगरका ठूला अस्पतालमा बिचौलियाको काम गर्ने १० जना पक्राउ

Logo 2021-08-25 06-08    Hamro Biratnagar

बिचौलियाको भूमिकामा रहेर बिरामीलाई ठगी गरेको आरोपमा विराटनगरबाट पक्राउ परेकाहरु

विराटनगर : विराटनगरका ठूला अस्पताल छेउछाउमा फार्मेसी सञ्चालन गर्दै बिचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई झुक्याएर निजी क्लिनिक एवं फार्मेसी लैजाने धन्दामा संलग्नहरु पक्राउ परेको हो ।

विराटनगरको नोबेल शिक्षण अस्पताल र कोसी अस्पताल आसपासबाट मंगलबार राति १० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार विराटनगरको नोबेल शिक्षण अस्पताल नजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका-७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर-१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर-४ का १९ वर्षीय सुजित यादव र विराटनगर-५ का २१ वर्षीय समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर-५ का २२ वर्षीय फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर-५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर-३ का १८ वर्षीय अमित यादवलाई पक्राउ गरिएको छ ।

त्यस्तै कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी-६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी-३ का ४२ वर्षीय मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा-२ का २० वर्षीय सूर्यनारायण यादवलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । उनकाअनुसार बिरामी भएर अस्पताल पुगेकाहरुलाई त्यहाँ जान नदिइकन निजी क्लिनिक र फार्मेसीतिर लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?