Logo

काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु

Logo 2021-08-27 09-08    Hamro Biratnagar

अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बताइएको छ। अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौंको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको हो।

अमेरिकाले विमानस्थल बाहिर ठूलो विस्फोट भए पनि हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्। बाइडनले यो मिसन सफल पारेर अपराधीहरूलाई खोजेरै छाड्ने वाचा गरेका छन्।

अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म एक लाख भन्दा बढीलाई अन्यत्रै लगिएको छ।

बिहीबार अफगानी समयअनुसार साँझको झन्डै ६ बज्दा एयरपोर्ट बाहिर विस्फोट भएको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो। उक्त प्रवेशद्वारमा अमेरिकी र ब्रिटिश सेना मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रिया पूरा गर्दै थिए।

त्यसको केही समयपछि गोली चलेको आवाज आयो र केही मिनेटमै ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन गराइएको थियो।

हमलाको जिम्मेवारी जिहादी समूहले लिएको छ। विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू घाइते भएका छन्। बीबीसीबाट


लोकप्रिय छुटाउनुभयो कि ?