Logo

प्रदेश मन्त्रि एवं सरकारको प्रवक्ताका रुपमा मेरो १,२८४ दिन

Logo 2021-08-27 10-08    Hamro Biratnagar

२०७४ मङ्सिर २१ गतेका दिन भएको प्रदेश सभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्वर ५(१) बाट नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभई २०७४ माघ १६ गते प्रदेश नम्वर १ को अस्थायी राजधानी विराटगरमा प्रदेश सभा सदस्यका रुपमा माननीय हिक्मतकुमार कार्कीले सपथ ग्रहण गर्नु भएको थियो ।उहाँ प्रदेश सभाको बहुमत प्राप्त दलको नेताका रुपमा माननीय शेरधन राई नेतृत्वको प्रदेश नम्वर १ सरकारमा २०७४ फाल्गुन ३ गते बिहीबारका दिन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारको प्रवक्ताका रुपमा आजसम्म १,२८४ दिन जिम्मेवारीमा रही बिदा हुनु भएको छ ।

यस कार्यकालमा उहाँले दुई पटक कार्यवाहक मुख्यमन्त्री तथा करिब तीन महिना सामजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । प्राप्त जिम्मेवारीहरु पुरा गर्न सहयोग गर्नु हुने माननीय प्रदेश प्रमुखहरु, माननीय मुख्यमन्त्री, माननीय सभामुख¸ माननीय मन्त्रीहरु, माननीय उपसभामुख, माननीय मुख्यन्यायधिवक्ता, प्रदेश योजना आयोग¸ प्रदेश लोकसेवा आयोग, प्रदेश सभा सचिवालय, प्रदेश सरकारका राष्ट्रसेवक कर्माचारीहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका नेता(कार्यकर्ताहरु, सामाजिक संघ संस्था, उद्योगी, व्यवसायी एवम् नागरिक समाजका अगुवाहरु, सन्चारकर्मीहरु, प्रमुख प्रतिपक्षी लगायत विपक्षी दल र सम्पूर्ण प्रदेशबासी दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छौँ ।

प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम प्राप्त विभिन्न क्षेत्रगत जिम्मेवारीहरु प्रदेश शान्ति सुरक्षा, कानून तर्जुमा, सञ्चार क्षेत्र र विपद् जोखिम न्यूनीकरणसम्वन्धी कार्यहरु मन्त्रालयबाट भएका छन् । प्राप्त जिम्मेवारीलाई कार्यक्षेत्रमा कुशलतापूर्वक कार्यान्वयन गर्दै सदैव प्रदेशवासीको हितमा उहाँ परिचालित हुनुभएको छ । मन्त्रालयबाट सम्पादन भएका मूख्य कार्यहरु निम्न अनुसार रहेका छन् :

१. प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न एवम् सुरक्षा निकायहरुको क्षमता विकास एवम् संरचनात्मक सुधारका लागि प्रदेश प्रहरी मुख्यालयसहित ४९ वटा प्रहरी चौकी निर्माण, पाँचथरमा महिला प्रहरी ब्यारेक, १४ वटै जिल्लामा महिला प्रहरी ड्रेस चेन्जिङ रुम निर्माण, सीमा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ १३ वटा बोर्डर आउट पोस्ट (बिओपी) निर्माण,१४ वटै जिल्लामा प्रविधिमैत्री सुरक्षा योजना अन्तर्गत सि.सि.टिभी. क्यामेरा जडान, जिल्ला प्रशासन कार्यालय सँग प्रत्यक्ष सम्वाद गर्न भिडियो कन्फरेन्स रुम निर्माण एवम् सन्चालन,सुरक्षा निकायहरुलाई १५ वटा पिक अप भ्यान, करिब ४५० वटा दुई पाङ्ग्रे सवारी साधन(मोटर साईकल) वितरण गरिएको छ ।

२. विपद् व्यवस्थापनसम्बन्धी कानूनी व्यवस्था गर्दै एकीकृत शान्ति सुरक्षा, विपद् तथा स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ११ थान पिकअप भ्यान र दमकल सहितको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र प्रदेशका १४ वटै जिल्लामा सञ्चालनमा ल्याईएको छ ।प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना र सञ्चालन, विपद् जोखिम न्यूनीकरणका लागि डि। डि.आर. पोर्टल निर्माण, मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माण , प्रदेश विपद ब्यवस्थापन नीति तथा प्रदेश विपद् ब्यवस्थापन रणनीतिक कार्ययोजना निर्माण, विपद् खोज, उद्दार र जोखिम न्यूनीकरणमा प्रयोग हुने विभिन्न सामाग्री खरिद र भण्डारण, विपदबाट ज्यान गुमाएका र घरबार विहिन भएका परिवारलाई राहत वितरण, प्रदेश गोदाम घर निर्माण¸ झापा, उदयपुर र धनकुटा जिल्लामा गोदाम घर निर्माण र सञ्चालन गर्ने जस्ता कार्यहरु सम्पन्न गरिएको छ ।

३. पत्रकारिता क्षेत्रको समस्या पहिचानका लागि आम सञ्चार अध्ययन कार्यदल गठन गरी प्राप्त प्रतिवेदनका आधारमा पत्रकारहरुको क्षमता विकास, सञ्चार माध्यमहरुलाई सबलीकरण गर्ने उद्देश्यका साथ प्रादेशिक सन्चार प्रतिष्ठानको गठन तथा सञ्चालन, आ. व. २०७५र७६ बाट राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारी प्रादेशिक पत्रकारिता पुरस्कार वितरण गर्ने कार्यको थालनी, प्रदेश पत्रकार महासंघ तथा जिल्ला शाखाहरुको भौतिक संरचना निर्माण तथा सस्थागत क्षमता विकास गर्न सहयोग , पत्रकार सुरक्षा कोषको स्थापना तथा सञ्चालन, एफ। एम। रेडियो सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानूनी व्यवस्था गरी दर्ता नवीकरण गर्ने कार्य प्रदेशबाटै गर्ने कार्यको थालनी लगायत सञ्चार क्षेत्रसँग सम्बन्धित कार्यहरु भएका छन् ।

४. “आजका किशोरकिशोरी देशका कर्णधार , यिनीहरुको सक्षमता नै समुन्नतीको आधार” भन्ने मूल नाराका साथ प्रदेशको सामाजिक तथा संस्कृतिक पक्षहरुलाई सुदृढ गर्दै किशोरावस्थामा प्रवेश गरेका कक्षा ९(१२ सम्म अध्ययन गर्ने १३१९ वर्षका करिव २००० विद्यालयका २ लाख विद्यार्थीहरुलाई सक्षम, सबल , सुसंस्कृत , नैतिक, सभ्य, लागु औषध दुर्व्यसनबाट मुक्त समतामुलक समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यका साथ १६९३ विद्यालयहरुमा सगरमाथा टिन्स क्लब गठन गरी “म अघी बढ्छु” कार्यक्रम सञ्चालन गरिएको छ ।

५. विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड १९ कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नीतिगत व्यवस्था गरी भारत लगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुका लागि क्वारेन्टिन व्यवस्थापन, होल्डिङ सेन्टर व्यवस्थापन, बन्दाबन्दी कार्यान्वयन, सीमा सुरक्षा र कोभिड नियन्त्रणका लागि सुरक्षाकर्मी एवम् जिल्ला प्रशासन कार्यालय परिचालनसम्बन्धी कार्यहरु भएका छन् ।

६. प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ५७ ऐन (संशोधनसहित), नियमावली, कार्यविधी तथा गठन आदेशहरु तर्जुमा गरिएको र करिव ३५ सय राजपत्र छपाई गरिएको छ । कानून निर्माण र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु, मुख्य न्याधिवक्ताहरु, सचिवहरुको सहभागितामा अन्तर प्रदेश अनुभव आदान प्रदान तथा सुरक्षा गोष्ठी सम्पन्न, प्रदेश सुरक्षा गोष्ठीहरु, प्रदेश सरकारले मनाउने राष्ट्रिय तथा प्रादेशिक दिवसहरुको व्यवस्थापन, स्थानीय तहहरुको कानून तर्जुमा तथा न्यायिक समितिहरुको क्षमता विकासका लागि तालिम, न्यायमा पहुँच लगायतका कार्यक्रमहरु, प्रत्येक वर्षका सार्वजनिक बिदाहरुको निर्धारण गर्ने कार्यहरु सम्पादन गरिएका छ्न् ।

प्रदेश सरकारको मन्त्रीको हैसियतमा उहाँले मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ अनुसार आजसम्म कुल रु ३९ लाख ९३ हजार ६ सय चालिसमा करकट्टी वापत रु ३ लाख ८४ हजार ८ सय २० गरी जम्मा रु ३६ लाख ८ हजार ८ सय २० खुद भुक्तानी लिनु भएको छ । यस अवधिमा उहाँले ऐन बमोजिम भ्रमण भत्ता बापत प्राप्त हुने कुनै पनि रकम (यातायात बाहेक) नलिनु भएको समेत जानकारी गराउँदै उहाँले प्रयोग गर्दै आउनु भएको सवारी साधन, ल्यापटप लगायत जिन्सी सामाग्रीहरु मन्त्रालयमा हस्तान्तरण गरिसक्नु भएको छ । सार्वजानिक पद धारण गर्दा बुझाउनु पर्ने सम्पत्ति विवरण प्रत्येक आ। व। मा आवधिक गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुझाउनु भएको छ ।

कार्यकाल अवधिमा महत्वपूर्ण सरसल्लाह¸ साथ¸ सहयोग र सद्भाव राख्नुहुने यस मन्त्रालयका प्रदेश सचिवहरु श्रीमान् यज्ञबहादुर खत्री¸ गोपालप्रसाद पराजुली¸ भरतमणि रिजाल¸ हरिप्रसाद मैनाली र राजेन्द्र पौडेल¸ महाशाखा प्रमुखहरु श्री कमलबहादुर थापा¸ रविन्द्र आचार्य¸ निधिराज न्यौपाने¸ ऋषि पौडेल¸ श्रद्धा रिजाल पौडेल¸ चमिला भट्टराई लगायत मन्त्रालयका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु¸ माननीय मन्त्री ज्यूको सुरक्षामा खटिनुभएका पि.एस.ओ. तथा अन्य सुरक्षाकर्मीहरु सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ। यस समय अवधिभर मानानीय मन्त्री ज्यूको सचिवालयमा रही भूमिका निर्वाह गर्न सबैबाट प्राप्त सल्लाह, सहयोग र साथ हाम्रा लागि प्रेरणाका श्रोत बनेका छन् । कार्य सम्पादनका दौरान केही गल्ति, कमी कमजोरी भएका भए सम्पूर्णमा क्षमा याचना गर्दै आगामी दिनमा पनि प्रदेशबासीको सेवामा निरन्तर सहभागी हुने विश्वास व्यक्त गर्दछौँ । आज प्रदेश १ सरकारको जिम्मेवारी प्राप्त गर्नु हुने माननीय मुख्यमन्त्री भीमप्रसाद आचार्य ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।

(निवर्तमान अन्तरिक मामिला तथा कानूनमन्त्रीको तर्फबाट जारी विदाई वक्तव्य)


लोकप्रिय छुटाउनुभयो कि ?