Logo

जोगबनी नाका खुलेपछि विराटनगर बजारको व्यापार ५० प्रतिशत घट्यो

Logo 2021-09-02 08-09    Hamro Biratnagar

विराटनगर, १७ भदौ । झन्डै १८ महिनापछि विराटनगरको रानी नाका सर्वसाधारणका लागि खोलिएपछि भारतीय जोगबनी बजारमा नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ । नेपाली उपभोक्ताको भीड बढेपछि सीमापारीका व्यवसायी उत्साहित भएका छन् भने विराटनगरका ब्यवसायी निराश भएका छन् ।

विराटनगरको रानी नाका खुलेपछि सीमावर्ती भारतीय बजार जोगबनीका व्यापारी उत्साहित भएका छन् । जोगबनी बजारमा करिब ९० प्रतिशत उपभोक्ता नेपालबाटै पुग्ने गरेका छन् । लामो समयपछि सर्वसाधारणको आउजाउ खुला गरिएपछि यतिखेर जोगबनी बजार नेपाली उपभोक्ताले खचाखच भरिएको हुन्छ ।

तर, यसको प्रत्यक्ष असर विराटनगर बजारमा देखिएको छ । एक त कोरोना महामारीले थलिएको वयापार त्यसमाथि अधिकांश ग्राहक जोगबनी पुग्न थालेपछि यताका ब्यापारी चिन्तित भएका छन् ।

नजिकिँदो चाडपर्वमा राम्रो ब्यापार हुने अपेक्षा गरेका वयापारीहरु उपभोक्ताको चाप जोगबनीमा बढ्दै गएपछि निराश भएका हुन् । पछिल्लो समय जोगबनी बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको भीडले जोगबनीमा खुट्टा टेक्ने ठाउँ हँुदैन भने विराटनगरका पसलेहरु ग्राहक कुरेर बसिरहेका हुन्छन् । यसअघि राम्रै चलेको व्यापार रानी नाका खुलेपछि ५० प्रतिशत घाटामा झरेको विराटनगरका व्यवसायी घनश्याम अग्रवाल बताउँछन् ।

व्यापारि मयंक अग्रवालले चाडवाड नजिकिँदै गर्दा जोगबनी नाका खोलीएपछि विराटनगरको व्यापार ठप्प जस्तै भएको बताए । उनले जोगबनी नाका खुल्ला गरिएपछि स्वदेशी बजार मारमा परेको गुनासो गरे । विराटनगरकै व्यापारि निर्मल अटलले सीमा नाका खुल्ला गरिएपनि किनमेलका लागि जोगबनी पुग्नेलाई कडाई गरि भन्सार राजश्व संकलन गर्नुपर्ने बताए ।

मोरङ जिल्लाभरि लगभग ६० हजार खुद्रा ब्यापारीहरु रहेका छन् । ती ब्यापारी कहाँ साढे चार देखि ५ लाखले रोजगारीसमेत पाएका छन् । रानी नाका खुल्नु अघि विराटनगरमा दैनिक ४० देखि ५० करोडसम्मको ब्यापार हुँदै आएकोमा पछिल्लो समय ५० प्रतिशतले घटेको व्यापारीहरुले बताएका छन् ।

व्यवसायीहरुले भन्सार महशुल तिरेर सामान ल्याउनुपर्ने भएकाले भारतीय बजारको तुलनामा नेपालतर्फ केही महँगो पर्छ । त, जोगबनी गएर सामान ल्याउने उपभोक्ताले भन्सार नै नतिरी ल्याउँदा सस्तो पर्ने भएकाले सामान किन्ने उपभोक्ता सिधै जोगबनी पुग्छन । मोरङको बेलबारीबाट सामान किन्न जोगबनी बजार पुगेर फर्कदै गरेकी युनिसा शिवाले भारतमा सस्तो मुल्यमा सामान पाइने भएकाले जोगबनी सामान किन्न आएको बताइन् ।

दैनिक ठूलो संख्यामा नेपालीहरु किनमेलका लागि जोगबनी जाने गरेकोले सोही अनुपातमा नेपाली मुद्रा पनि विदेशने गरेको छ । दसैं–तिहारलगायतका ठूला चाडवाड नजिकिँदै गए पनि विराटनगरसहित नेपाली बजारको व्यापार खासै फस्टाउन सकेको छैन । सरकारले साना व्यवसायीलाई टिकाउने नीति नबनाए स्वदेशी व्यापार व्यवसाय धारासायी हुने र व्यवसायी पलायन हुने खुद्रा व्यापार संघका अध्यक्ष संजयकुमारसिंह मण्डल बताउँछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?