Logo

पर्वत पहिरो अपडेट : एकै परिवारका पाँचसहित १० जनाको मृत्यु

Logo 2021-09-03 05-09    Hamro Biratnagar

पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

चार ठाउँमा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले शिलापत्रलाई जानकारी दिए । उनका अनुसार अझै एक जना बेपत्ता छ्न् ।

पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङ भोगेनी बस्ने ७५ वर्षीय कौशिला पौडेल, ३५ वर्षकी भगवती पौडेल, १६ वर्षकी बिमला पौडेल, ११ वर्षीय बिनिता पौडेल र ९ वर्षका विनोद पौडेलको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

कुश्मा नगरपालिका- ११, सिल्मिका मनिलाल पौडेलको घरमा पाहुना गएका आमाछोराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । पाहुना गएका मोदी गाउँपालिका- ७, राम्जा घर भएकी ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेशको मृत्यु भएको हो ।

सोही वडाको पकुवामा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश पौडेलको मृत्यु भएको हो । प्रहरी निरीक्षक अधिकारीका अनुसार मायाकी सासु ७० वर्षकी डल्ली पाध्या बेपत्ता छिन् ।

मोदी गाउँपालिका ५ अम्बोटमा पनि एक जनाको मृत्यु भएको छ । स्थानीय ओखलढुंगा सामुदायिक वनबाट टहरामा पहिरो खस्दा पुरिएर ५० वर्षीय फुलमाया थापाको पनि मृत्यु भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?