Logo

हिरासतमा विराटनगरका कामतको मृत्यु प्रकरण : शंकास्पद मृत्यु भएको भन्दै आफन्तद्वारा प्रदर्शन

Logo 2021-09-06 07-09    Hamro Biratnagar

तस्बीर : सामाजिक संजाल

विराटनगर : मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि घटनाको विरोधमा सोमबार विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन्।

जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर उनीहरुले प्रदर्शन गरेका हुन् । गत शुक्रबार तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो । लागुऔषध मुद्दामा म्याद थप गर्न अदालतमा लैजाने तयारी हुँदै गर्दा अचानक बेहोस भएर ढलेका कामतको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु शंकास्पद रहेको र प्रहरीको यातनाका कारण भएको भन्दै आफन्त र स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । मृतककी भाउजू मीनादेवी कामतले प्रहरीको यातनाका कारण भीमको मृत्यु भएको दाबी गरिन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने शवको पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा यकिन हुने बताए । हिरासतभित्रै अस्वभाविक व्यवहार देखाउन थालेपछि भीमको हात र खुट्टामा हत्कडी लगाउनुपर्ने अवस्था आएको श्रेष्ठले बताए ।

मृतकको खुट्टामा गम्भीर चोट रहेको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको थियो । उनीहरुले मृतकको शव पनि बुझ्न मानिरहेका छैनन् ।

घटनाको छानबिन गर्नका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सीनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको छ । सहायक प्रजिअ नेतृत्वको समितिमा प्रहरी अधिकारी र जनप्रतिनिधि पनि छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?