Logo

प्रमुख प्रतिपक्षी एमालेले फेरि गर्‍यो संसदमा अवरोध

Logo 2021-09-10 01-09    Hamro Biratnagar

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राखेको छ ।

सभामुख अग्नि सापकोटाले पार्टी विभाजनलाई सहयोग पुर्‍याएको भन्दै एमालेका सांसदहरूले संसद अवरोधलाई शुक्रबार पनि निरन्तरता दिएका हुन् ।

बुधबार बसेको संसद बैठकमा एमालेका सांसदहरूले सभामुखको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका  थिए ।त्यसबेला सभामुख सापकोटाले एमाले सांसदहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख र ग बारे ध्यानाकर्षण गराएका थिए । त्यस नियममा संसदमा सभामुखविरुद्ध संसदमा टेबुल भएका औपचारिक प्रस्तावबाहेकमा र सभामुखको निर्णयविरुद्धमा सदनमा आलोचना गर्न नपाइने उल्लेख छ ।

एमालेले सभामुख सापकोटाको अध्यक्षतामा संसद चल्न नदिने बताइरहेको छ । १ भदौमा १४ जना सांसदलाई कारबाही गरेको पत्र पठाएपनि सभामुखले पदमुक्तको सूचना टाँस नगरेको भन्दै त्यस पार्टीका सांसदहरू रुष्ट छन् । आफूहरूले कारबाही गरेकाहरूले नै सनाखत गरेर नेकपा एकीकृत समाजवादी गठन भएको भन्दै एमालेले ती सांसदहरू गैरकानुनी हुने र सदनमा बस्ना नमिल्ने तर्क गरिरहेका छन् ।

यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा एकीकृत समाजवादीको समेत स्थान तोकेर बैठक बोलाउँदै सरकारले मुठमेड निमत्याउन खोजेको एमालेको आरोप छ ।


लोकप्रिय छुटाउनुभयो कि ?