Logo

शान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्‍यक छ : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

Logo 2021-09-10 06-09    Hamro Biratnagar

काठमाडौं, २५ भदौ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन् । संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालय (Ministry Of Public Security) को आयोजनामा यही ८ सेप्टेम्बरदेखि ९ सम्म भएको शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय अनलाइन कार्यशालामा उनले त्यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा महानिरीक्षक खनालले 'सेफ्टी एण्ड सेक्युरिटी अफ यूएन पिसकिपर्स' विषयमा प्रमुख वक्ताको रूपमा उक्त धारणा राखेका थिए । उनले उनले भने, 'शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाका लागि एम्बुस तथा माइनहरूबाट सुरक्षित रहन पर्याप्‍त मात्रामा सचेतना र क्षमता अभिवृद्धि गर्नुपर्छ । शान्ति स्थापनार्थ परिचालनपूर्वको तालिममा यससम्बन्धी क्षति न्यूनीकरण गर्ने उपायबारेसमेत प्रशिक्षण प्रदान गर्नुपर्छ ।'

बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित तालिमले शान्ति मिसनमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने उनको भनाइ थियो । कुशल नेतृत्व, सामूहिक भावना र सहकार्य, अनुशासन, इमानदारी, सही योजना, समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाका लागि महत्वपूर्ण हुने उनले बताए । उनले संयुक्त राष्‍ट्रसंघ र यसका सदस्य राष्‍ट्रहरूको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउन यस्ता सम्मेलन महत्त्वपूर्ण हुने बताए ।

कार्यक्रममा आयोजक राष्ट्र चीनका एक्जेक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उपमहासचिव जं पियर लाक्वा, यूएन पुलिस एड्भाइजर लुइस कारिल्होलगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स¸ जर्मनी¸ अर्जेन्टिना¸ बंगलादेश¸ पाकिस्तानसहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्‍याउने विभिन्न देशका उच्च अधिकारीहरूको सहभागिता थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?