Logo

राखेपका पूर्वसदस्यसचिव राणाको निधन

Logo 2021-09-11 12-09    Hamro Biratnagar

काडमाडौं, २६ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ ।

उनको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौंको बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमित रूपमा डायलायसिस गर्दै आएका थिए ।

राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए ।

राणा २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षसमेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए । नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष भएका थिए । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत भएका थिए ।

राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको आजै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?