Logo

रतुवामाईमा युवा संघ र अनेरास्ववियुद्वारा एमसिसिको विरुद्धमा प्रदर्शन

Logo 2021-09-11 08-09    Hamro Biratnagar

विरमटनगर, २६ भदौ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्तरुपमा एमसिसिविरुद्ध मोरङको रतुवामाई नगरपालिकामा प्रदर्शन गरेका छन् ।

शनिबार साँझ रतुवामाईको आमबाडी चोकमा युवा संघ र अनेरास्ववियु रतुवामाई नगर कमिटीले संयुक्त रुपमा एमसिसि राष्ट्रघाती सम्झौता भएको भन्दै त्यसविरुद्ध प्रदर्शन गरेका हुन् । युवा संघ र अनेरास्ववियु कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध चर्को नारबाजी गरेका थिए।

युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुले एमसिसिविरुद्ध बोल्न नपाउने भन्दै गृहमन्त्रालयले उर्दी जारी गरेर निरंकुश र पञ्चायती शासनको झल्को दिएको बताए । उनीहरुले निरंकुश र पञ्चायती शासन जस्तै जनताको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउनेगरि गहृमन्त्रालयले जारी गरेको विज्ञप्तीप्रति आपत्ति जनाउँदै उक्त विज्ञप्ती समेत जलाएका थिए ।

उनीहरुले परमादेशबाट बनेको सरकारले विदेशीलाई खुशि पार्न एमसिसि र जयसिंह धामी प्रकरणमा .जनतालाई बोल्न नदिन उर्दी जारी गरेको भन्दै गृहमन्त्रालयको विज्ञप्ती समेत जलाएका थिए ।

युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुले राजा र पञ्चायती शासनकाविरुद्ध उभिएका जननेता मदन भण्डारीले नेतृत्व गरेको पार्टीका कार्यकर्ता आफुहरु भएकाले परमादेशबाट बनेको गठबन्धन सरकारले दिने धाक र धम्कीले नडराउने बताए ।

विरोध र्यालीमा सहभागी युवा र अनेरास्ववियुका नेता कार्यकर्ताहरुले एमसिसि राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताएका थिए । प्रदर्शनमा सहभागीहरुले एमसिसि मुर्दावाद, एमसिसि खारेज गर, देउवा सरकार मुर्दावाद, जयसिँहलाई न्याय दे लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

रतुवामाईको आमबारी बजारबाट निकालिएको जुलुस शनिश्चरे बजारमा पुगेर कोणसभामा परिणत भएको थियोे । राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेलको प्रमुख आतिथ्यतामा विरोध प्रदर्शन गरिएको युवा संघ रतुवामाई नगर कमिटी अध्यक्ष रामकार्की (आदेश) ले जानकारी दिए ।

विरोध प्रदर्शनसहितको कोणसभालाई नेकपा (एमाले) मोरङका सदस्य गोपि चापागाईँ, नेकपा (एमाले) रतुवामाई नगर कमिटी अध्यक्ष देवी दाहाल, युवा संघ रतुवामाई नगर कमिटी अध्यक्ष रामकार्की (आदेश), अनेरास्ववियुका केन्द्रीय सदस्य तिर्थ बस्नेत, मोरङ जिल्ला सचिवालय सदस्य रुपेश ढकाल, नगर संयोजक सशांक चापागाईंले सम्बोधन गरेका थिए । कार्यक्रम युवा संघ रतुवामाई कमिटी सचिव समिर सुवेदीले सञ्चालन गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?