Logo

इजरायल जान चाहने श्रमिककाे भाषा परीक्षा आज

Logo 2021-09-13 09-09    Hamro Biratnagar

काठमाडौं, २८ भदौ । इजरायल जान चाहने श्रमिक छनोटका लागि आज भाषा परीक्षा हुँदैछ ।

काठमाडौँका विभिन्न ११ वटा परीक्षा केन्द्रमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुनेछन् ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको हो ।

कलंकीमा रहेको एलआरआई विद्यालय, त्रिपुरेश्वरको विश्व निकेतन उच्च मावि, रानीपोखरीको दरबार स्कुल, नयाँबानेश्वरको मदन भण्डारी मेमोरियल कलेज तथा नोबेल एकेडेमी, एम्बिसन एकेडेमी, कोटेश्वर सरस्वती मावि, कोटश्वर बहुमुखी क्याम्पस, गोठाटारको गान्धी आदर्श मावि, वसुन्धराको साउथ वेस्टर्न कलेज र बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेशनल कलेजमा भाषा परीक्षाका लागि केन्द्र तोकिएको थियो ।

परीक्षामा सहभागी हुनेहरूका लागि प्रवेशपत्र इमेलमार्फत नै पठाइएको वैदेशिक राेजगार विभागले जनाएकाे छ ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने छ । त्यसमा अंग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुन सक्ने जनाइएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अंक छुट्टाइएको छ । इजरायल सरकारले अंग्रेजी भाषालाई प्राथमिकता दिएको छ ।

इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर एक हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?