Logo

सत्ता र शक्तिको दुरुपयोग गरेर देउवाले पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल

Logo 2021-09-13 04-09    Hamro Biratnagar

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशन आफूहरूलाई मान्य नहुने चेतावनी दिए ।

पौडेलले भने, ‘देशैभरी पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस देउवाले गर्न खोजेका छन् । त्यो दूस्साहस हो । हामी हुन दिँदैनौं । कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा बिचलित हुन दिँदैनौं ।’

उनले आफूपक्षधर नेता–कार्यकर्ताहरूलाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको भन्दै आक्रोश पोखे ।  पौडेलले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व रुपान्तरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको क्रियाशील सदस्यता छानविन गर्ने काममा समेत देशभर धाँधली गरेको आरोप लगाए । उनले पार्टीको आगामी महाधिवेशनबाट सही नेतृत्व चयन गर्नेगरी अघि बढ्न पनि पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?