Logo

प्रदेश १ः एकिकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई समर्थन नरहेको प्रदेशसभामा जानकारी गरायो

Logo 2021-09-13 07-09    Hamro Biratnagar

विराटनगर, २८ भदौ । नेकपा एकिकृत समाजवादीले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश १ को सरकार अल्पमतमा परेको छ ।

प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एकिकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार नेकपा एकिकृत समाजवादीकी सांसद सावित्रा रेग्मीले प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै नेकपा एमालेमा हुँदा आफूहरूको समर्थनमा बनेको मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।

उहाँले अब, नेकपा एसको नेतृत्वमा नेयाँ सरकार गठनको प्रकृया अघि बढ्ने बताउनुभयो । नेकपा एकिकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश १ को सरकार अल्पमतमा परेको छ । सरकारअल्पमतमा परिसकेकाले नयाँ सरकार गठनका लागि पनि एकिकृत समाजवादीले पहल थाल्ने तयारी गरेको छ ।

नयाँ सरकार गठनका लागि पहल गर्न दुई सदस्यीय वार्ता समिति समेत एकिकृत समाजवादीले गठन गरेको छ । वार्ता समितिमा एकिकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र राजन राई रहनुभएको छ । यस्तै मंगलबार नै प्रदेशसभा सचिवालयमा नेकपा एकिकृत समाजवादीको संसदीय दलको नेता चयन गरेको पत्र पनि बुझाइएको छ ।

प्रदेश १ को संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई नेकपा एकिकृत समाजवादीकी सांसद सावित्रा रेग्मीले संसदीय दलको नेता चयन गरेको पत्र बुझाउनु भएको हो ।

यता सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नेकपा एकिकृत समाजवादीमा आबद्ध सांसदहरूले समर्थन फिर्ता लिनुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपा एकिकृत समाजवादीका १४ सांसदलाई पार्टीले गरेको कार्वाहीको मुद्धा अदालतमा विचाराधिन भएकोवेला प्रदेश १ का सांसदहरूले ंसरकारलाई दिएको समर्थन फिर्ता लिनुको औचित्य नै नभएको उहाँले बताउनुभयो ।

एकिकृत समाजवादी पार्टीले अझै बैधानिकता पाइनसकेका कारण नेकपा एमालेका सांसदहरूले अर्को पार्टीमा गएको भन्दै सरकारलाई समर्थन छैन भन्नु व्यवहारिक नदेखिएको राजभण्डारीले बताउनुभयो ।

१४ जना सांसदलाई कार्वाही गरेको विषयमा अदालतले आदेश नदिइ प्रदेश १ मा नयाँ सरकार गठनको कुनै संभावना नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । यता प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली सरकारलाई दिएको समर्थन नेकपा एसले फिर्ता लिएको जानकारी प्रदेशसभामा गराएको बताउनुभयो । उहाँले अब कानुन अनुसार प्रकृया अघिबढ्ने जानकारी दिए ।

नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा प्रदेश १ का १० जना सासद छन् । नेकपा एमालेबाट राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेकपा एस्मा गएको सनाखत गरेका छन् । प्रदेशसभामा हाल कायम रहेका ९२ सांसदमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ जना सांसद छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?