Logo

रतुवामाईमा युवा संघद्वारा भण्डाफोर अभियान सुरु: भ्रष्टाचार अन्त्यको माग गर्दै नगरपालिकालाई बुझायो ज्ञापनपत्र, नगरवासीले तिरेको करको सदुपयोग नभए कडा कदम चाल्ने चेतावनी

Logo 2021-09-14 01-09    Hamro Biratnagar

विराटनगर, २८ भदौ । मोरङको रतुवामाई नगरपालिकामा चरम भ्रष्टाचार मौलाएको भन्दै राष्ट्रिय युवा संघले भण्डाफोर अभियान सुरु गरेको छ । नगरपालिकाका मेयर रवीन राईसहितका जनप्रतिनिधिहरु जनताले तिरेको करको दुरुपयोग गरि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ रतुवामाई नगर कमिटीले भण्डाफोर अभियान सुरु गरेको हो ।

महालेखा परिक्षकको प्रतिवेदन अनुसार नगरपालिकामा चरम भ्रष्टाचार मौलाएको पुष्टि भएकाले भण्डाफोर अभियान सुरु गरिएको राष्ट्रिय युवा संघ रतुवामाई नगर कमिटीका अध्यक्ष राम कार्की (आदेश) ले बताए ।

सोमबार युवा संघले नगरवासीले तिरेको करको सहि सदुपयोग गर्न माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै युवा संघले महलेखाको प्रतिवेदनले औँल्याएका विषयमा जनप्रतिनिधिहरुले पारदर्शीरुपमा जनतालाई जवाफ दिनुपर्ने र त्यसका लागि आगामी कात्तिक महिना भित्रमा सार्बजनिक सुनुवाई गर्नसमेत माग गरेको छ ।

‘नगरपालिकामा बेथिती, विसंगति, नीतिगत भ्रष्टाचार जस्ता कामहरु मेयरको गतिविधिले नगरको विकासमा ठुलो चुनौती दिएको छ । जनताले तिरेको करमा चरम भ्रष्टाचार मलेपले औँल्याउनु रतुवामाई नगरवासीको ठुलो दुर्भाग्य हो ।’ ज्ञापन पत्रमा भनिएको छ,‘गल्ति सच्याएर जनताको करलाई सहि सदुपयोग नगरे÷नगराए राष्ट्रिय युवा संघ कडा कदम चाल्न बाध्य हुनेछ ।’

मेयर रविन राईलाई बुझाउन गएको भएपनि उनि उपस्थित नभएपछि युवा संघले उपमेयर दयन्तादेवी चुडाल र निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिहर घिमिरेलाई ज्ञापनपत्र बुझाएको थियो ।

एकदिन अघि मेयर राईलाई ज्ञापनपत्र बुझाउने समय लिएको र मेयरको सचिवालयलाई समेत जानकारी गराएपनि उनी उपरिस्थत नभएपछि उपमेयर चुडाललाई बुझाइएको राष्ट्रिय युवा संघ रतुवामाई नगर कमिटीका अध्यक्ष कार्कीले बताए । ज्ञापत्रपत्र राष्ट्रिय युवा संघ रतुवामाई नगर कमिटीका अध्यक्ष कार्की र सचिव समिर सुवेदीले बुझाएका थिए ।

त्यसअघि रतुवामाई नगरपालिका–६ स्थित पार्टी कार्यालयबाट नगरपालिकासम्म युवा संघका नेता कार्यकर्ताहरुले मोटर साइकाल र्यालीसमेत निकालेका थिए । उनीहरुले नगरपालिका कार्यालय अगाडी केहीबेर प्रदर्शनसमेत गरेका थिए ।

ज्ञापनपत्र बुझाएपछि भण्डाफोर अभियान अन्तर्गतनै नेकपा (एमाले) निकट युवा र विद्यार्थी संगठनका नेता कार्यकर्ताले नगरपालिका कार्यालय अगाडीबाट आमबाडी चोकसम्म मोटरसाइकल र्याली निकालेका थिए ।

र्यालीपछिको कोणसभालाई अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य भाष्कर खनाल, नेकपा (एमाले) रतुवामाई नगरकमिटी सचिव नेवालाल राजवंशी, नगर कमिटी कार्यालय सदस्य शान्तिराम बराल, नगर कमिटी सदस्य टेकप्रसाद दर्नाल, युवा नेता दुर्गा गौतमलगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले नगरपालिकामा भएको चरम भ्रष्टाचार, विकासमा गतिहिनता र गुणस्तरहिन विकास निर्माणलगायतका कामले आजित जनतालाई युवा संघले सुरु गरेको भण्डाफोर अभियानमा ऐक्यवद्धता जनाएर नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउन आग्रह समेत गरेका छन् ।

कोणसभाको संयोजन युवा संघ नगर कमिटी उपाध्यक्ष जीवन न्यौपानेले गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?