Logo

विद्युत प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्ने

Logo 2021-09-14 02-09    Hamro Biratnagar

काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणले बिजुली पोलको भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काट्ने भएको छ । आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको समयसीमा दिएको छ ।

यदि उक्त समयमा पनि सम्झौता गर्न नआए बिजुली पोलमा जडान गरिएका इन्टरनेट सेवा प्रदायक कम्पनीका तार काटिदिने भएको हो । केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए बमोजिम जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेश गरी नविकरण नगरेको, परिमार्जित भाडा दर भुक्तानी गर्न अनाकानी, वक्यौता नतिरेको जनाउँदै प्राधिकरणले सार्वजनिक सूचनामार्फत तत्काल सम्झौता गर्न आग्रह गरेको हो ।

१५ असोजभित्र सम्झौता गर्न नआउने सेवा प्रदायकले प्राधिकरणको पोलमा जडान गरेको तार, अप्टिकल फाइबर तथा अन्य उपकरणहरु जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको जिम्मेबार सम्बन्धित सेवा प्रदायक नै हुने छ ।

प्राधिकरणको संरचना प्रयोग गरी आफ्नो सेवा विस्तार गर्दै उपभोक्ताबाट महशुल उठाउने गरेका छन् । तर,केही सेवा प्रदायकहरुले संरचना प्रयोग गरेबापतको भाडा तिर्न अस्विकार गर्दै आएका छन् । यसका कारण प्राधिकरणले आफ्नो आम्दानी गुमाइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?