Logo

सरकारले सुकुम्बासीको पेटमा लात हान्यो- प्रदीप ज्ञवाली

Logo 2021-09-15 08-09    Hamro Biratnagar

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको आरोप लगाएका छन् ।

नेकपा एमाले कपिलवस्तुले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भूमि समस्या समाधान आयोग विघटन गरेकोमा गठबन्धन सरकारप्रति आक्रोश व्यक्त गरे । उनले देउवा सरकार गठन भएलगत्तै सुकुम्बासीलाई निशाना बनाएको बताए ।

सरकारको प्रमुख काम जनताका मौलिक हक प्रदान गरी जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने भए पनि सुरुमै भूमि आयोग खारेज गरेर जनताको पेटमा लात हानेको बताए ।

‘देश र जनताका अत्यावश्यक समस्या समाधान गर्नुको सट्टा समाधान उन्मूख भूमिहीनको बस्ने बास नै धरापमा पारिदिएको छ,’ ज्ञवालीले प्रश्न गरे, सरकार गठनको दुई महिना बित्दासमेत मन्त्रिपरिषद विस्तार हुनसकेको छैन, यो सरकारले जनताको हितमा काम गर्छ भनेर विश्वास कसले गर्न सक्छ र ?’

नेता ज्ञवालीले एमसीसीमा केपी ओली नेतृत्वको सरकारको कुुनै हात नभएको बताएका छन् । बाहिर एमाले सरकारको पालामा एमसीसी सम्झौता भएको भन्ने गलत भ्रम छर्न खोजिएको भन्दै उनले एमसीसी सम्झौता पास गर्ने रोलमा आफूहरु नभएको र अहिले यसबारे कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताए । उनले भने ‘तर अब सम्झौता पास गर्ने रोलमा आए गहिरो अध्ययन गरेर देश र जनताको हितमा काम गर्ने गरी निर्णय गर्नुपर्दछ ।’


लोकप्रिय छुटाउनुभयो कि ?