Logo

विराटेश्वर बृद्धाश्रमद्वारा विराटनगरका युवा समाजसेवी केशव सारडा सम्मानित

Logo 2021-09-15 10-09    Hamro Biratnagar

विराटनगर, ३० भदौ । विराटनगर बलुवाहीस्थित विराटेश्वर बृद्धाश्रम सेवा समितिले विराटनगरका युवा सामाजसेवी केशव सारडालाई सम्मान गरेको छ । विगत चार वर्षदेखि निरन्तर आश्रमलाई विभिन्न सहयोग पुर्याउँदै आएका युवा समाजसेवी सारडालाई बुधबार एक कार्यक्रमकाबिच सम्मान गरिएको हो ।

एक कार्यक्रमका बिच आश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले सारडालाई सम्मान पत्रसहित सम्मान गरेका हुन् । सो अबसरमा बोल्दै अध्यक्ष अर्यालले युवा समाजसेवी सारडाले आश्रमलाई निरन्तर सहयोग पुर्याउँदै आएको जानकारी दिए ।

उनले केही वर्षदेखि यता सारडाले निरन्तर आश्रमलाई खाद्यान्न, आवश्यक परेको बेला औषधी, कोरोना महामारीका कारण भएको बन्दको समयमा विभिन्न सहयोग, भवन निर्माणका लागि सिमेन्ट, बालुवा, गिटी लगायत तन मन र धनले सकेसम्मको सहयोग गर्दै आएको भन्दै प्रशंसा गरे ।

अध्यक्ष अर्यालले निस्वार्थ भावनाले सारडाले आश्रमलाई जसरी सहयोग पुर्याउँदै आएका छन् त्यसरीनै अन्य सवै युवाहरुले पनि सकेसम्मको सहयोग गर्नुपर्ने बताए । उनले अन्य युवाहरु पनि बेसाहारा जेष्ठ नागरिकहरुलाई सहयोग पुर्याउन उत्प्रेरीत हुन भन्ने उदेश्यले सम्मान गरिएको बताए ।

उनले अहिलेका युवाहरुले जन्मदिन, वार्षिकोत्सव लगायतका कार्यमा फजुल खर्च गर्नुभन्दा बेसाहाराको लागि त्यहि फजुल खर्चबराबरको रकम सहयोग गरे ठुलो पुण्य मिल्ने बताए ।

उनले सारडाले निस्वार्थ सहयोग गर्दै आएकाले अन्य युवाले पनि उनको अनुसरण गर्न सक्नुपर्ने बताए । अध्यक्ष अर्यालले सारडा जस्तै अरु युवाले पनि यसरीनै सहयोग गरेको खण्डमा हाल समस्यै समस्याबाट गुज्री रहेको आश्रमलाई राहत हुने बताए । ‘कोरोना माहमारीका कारण दुई वर्षदेखि धेरैको आश्रममा ध्यान नपुगेको हो कि भन्ने जस्तो देखिएको छ । पहिले दिनहुँ जस्तो सहयोग गर्नेहरु आइरहनुहुन्थ्यो ।’ उनले भने,‘तर अहिले एकदमै कम भएको छ ।’

अध्यक्ष अर्यालले विराटनगर महानगरपालिका र प्रदेश सरकारले आश्रमको समस्याकमा विषयमा गम्भिर चासो नलिएको गुनासो गरे । ‘बृद्धाश्रम स्थापना भएको १८ वर्ष भन्दा बेसि भइसकेको छ । अहिले ६० देखि १०२ वर्ष सम्मका जेष्ठ नागरिक आश्रममा आश्रित हुनुहुन्छ ।’ उनले भने,‘तर आश्रम अहिले आर्थिक रुपले एकदमै समस्यामा छ ।’

उनले आश्रम अहिले निकै समस्यामा रहेकाले आर्थिक सहयोगको आवश्यकता रहेको बताए । उनले आर्थिक अभावकै कारण आश्रममा आश्रित जेष्ठ नागरिकको पालन÷पोषणमा समस्या पर्दै आएको जानकारी दिए । उनले निर्माणाधिन आश्रमको भावन निर्माणमा पनि सहयोग आवश्यक रहेको बताए ।

युवा समाजसेवी सारडाले आश्रमलाई निरन्तर विभिन्न सहयोग पुर्याउँदै आएका छन् । उनले आश्रमको भवन निर्माण लागि विभिन्न समयमा सिमेन्ट, रंग, बालुवा, गिटी लगायतका सहयोग गरिरहेका छन् भने आश्रममा आश्रिम जेष्ठ नागरिकका लागि धेरै पटक खाद्यान्न तथा फलफुलल समेत वितरण गरेका छन् ।

सारडाले बुधबार पनि आश्रममा आश्रित सवैलाई खाजाको व्यवस्था गरेका थिए । विराटेश्वर वृद्धाश्रम अशोक चोकदेखी पूर्व बलुवाहीमा पर्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?