






विराटनगर । नेकपा माओवादी केन्द्र कोसी प्रदेशका प्रदेश सभा सदस्य गोम्बु शेर्पाले प्रदेश प्रहरी समायोजनामा ढिलासुस्ती गर्ने संघीय सरकारविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताएका छन् ।
आइतबार सभाको बैठकमा शुन्य समयमा बोल्दै शेर्पाले भने,“संविधानको प्रदेशको एकल अधिकारभित्रको प्रहरी तुरुन्त हस्तान्तरण होस नत्र निर्णायक संघर्ष गरौं ।” उनले अहिले सिंगो प्रदेश र जिल्लाहरुमा सुरक्षा अवस्थामा जटिल समस्या पर्दै गएको बताए ।
संघीय सरकारको गैरजिम्मेवार र संघीयता विरोधी हर्कतले ढिलासुस्ती भएको भन्दै उनले प्रहरी समायोजन गर्ने तथा दबरन्दी व्यवस्था पनि नगर्दा सुरक्षा अवस्था जटिल बनेको दाबी गरे । खासगरी हिमाली र पहाडी जिल्लामा दरबन्दीको आधामात्र प्रहरी कर्मचारी भएपनि काजमा गएका कारण समस्या परेको सुनाए ।
“प्रहरी संख्या थोरै छ, नयाँ विस्तार भएको प्रहरी चौकी सूचारु गर्न पनि गर्न नसक्ने अवस्था छ । भवनहरु निर्माणको पनि समस्या छ । सोलुखुम्बुमा कतिपय गाउँपालिकामा चौकी भवन बन्न सकेका छैनन्,” उनले भने, “संघले नबनाउने र प्रदेशलाई पनि हस्तान्तरण नगर्ने समस्या छ । तुरुन्त प्रहरी समाजोजन गर्न वा दरबन्दी मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।”