हिजो!
आगनको डिलमा बसेर,
बा हुक्का तान्नुहुन्थ्यो!
वलेसी नीर बसेर,
माँ छ्याङ छान्नुहुन्थ्यो!
चौतारीको छहारीमा बसेर,
अजी बात्ती काट्नुहुन्थ्यो!
घर छोप्नै लागेका बुट्यानहरू,
दाईहरू मिली मिली छाट्नुहुन्थ्यो!
दिदिहरू तारी गाईका लागि,
घाँसको जोहो गर्नुहुन्थ्यो!
गामका लाठेहरू लिङ्गे पिङका लागि,
बाबियो र बाँसको जोहो गर्नुहुन्थ्यो !
खटियामा बसेर!
साईला काका,
थानका लुगा खुट्नुहुन्थ्यो!
साईली काकी,
ब्लाउजमा बटन लाउन जुट्नुहुन्थ्यो!
घरी घरी साईला काका,
तीनपाने मगाउनुहुन्थ्यो!
साथमा छ्याङको दुई चुस्कि लगाउनुहुन्थ्यो!
तब न दशैँ आएजस्तो हुन्थ्यो!!
चौरका लिङ्गे पिङ!
चुनढुङ्गाको कमेरो माटो!
बारीभरी तोरीका फूलहरू!
रस चुसीरहेका माहुरीका ती हुलहरू!
रातमाटेका ती राता माटाहरू!
उघ्रिएका ती मूल बाटाहरू!
जसले,
जसले बोलाईरहेका हुन्थे!
आफ्नै ईसारामा!
तब,
तब न;दशैँ आएजस्तो हुन्थ्यो।
निधारका राता टिकाहरू!
कानका ती लोभलाग्दा जमराहरू!
जब,
आफैले आफैलाई हेर्दै!
मुस्कुराईरहेका हुन्थे!
तब न दशैँ,
दशै जस्तो हुन्थ्यो !
आज!
गाम रित्तिएको छ!
मूल बाटाहरू कसैका लागि घाँस बनेका छन्!
बाँ,अजी,काका-काकी सिंगो ईतिहास बनेका छन्!
भावविह्वल हुँदै भनीरहेको छ गामले आज-
"बिन्ती छ दशैँ तिमी नआऊ!"
डिक्सन श्रेष्ठ
विराटनगर