उत्तर अफ्रिकी देश लिबियामा भीषण बाढीले दुई हजारभन्दा बढीको ज्यान लिएको छ । न्युज एजेन्सी एपीका अनुसार, बाढीमा ६ हजार मानिस हराइरहेका छन् । लीबियाको पूर्वी संसद समर्थित प्रशासनका अध्यक्ष ओसामा हमदले मृतकको संख्याबारे पुष्टि गरे । उनका अनुसार, मूसलाधारे वर्षाका कारण देशको स्थिति भयावह छ ।
समुद्री तुफान ड्यानियलको उत्पातपछि दुई बाँध फुट्दा लिबियाको डर्ना शहरमा भागाभाग मच्चिएको छ । समुद्री तुफान चलिरहँदा पहाडले घेरिएको डर्ना शहरका दुई बाँध फुटेका अल जजिरा न्युजले लेखेको छ । बाँध फुट्दा ३ लाख ३० हजार क्युबिक मिटर पानी शहरमा पसेको छ । डर्नामा आपतकाल घोषणा गरिएको छ ।
प्रधानमन्त्री ओसामा हमादले तीन दिन राष्ट्रिय शोकको घोषणा गर्दै देशभर झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।