सत्ता सहयात्री दलहरूले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्याक्रम ल्याउने तयारी गरेको छ । सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासकाे मत लिने प्रयास गरेका छैनन् ।
गत जेठ २३ मा प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचना सभामुखले दिए ।
नेकपा माओवादी केन्द्रले एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन त्यही दिन फिर्ता लिएको थियो । जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेस गर्ने तयारी हुँदाहुँदै बैठक स्थगित भएकाले सरकारले नीति कार्यक्रम प्रस्तुत नगरी अध्यादेशबाट बजेट ल्याउन लागेको बुझाइ विपक्षीहरूको थियो ।
सरकारले भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छनक दिएपछि सभामुखले अनिश्चितकाका लागि स्थगित कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बोलाएका छन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् । माओवादीले समर्थन फिर्ता लिएपछि सकसमा परेको कार्की नेतृत्वको सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो ।