विराटनगर, ७ असार । विराटनगरमा मासुको पैसा माग्दा एक जनाको हत्या भएको आरोप लागेको छ । गिरिस खतिवडाले सञ्चालन गर्दै आएको जि क्याफे एण्ड बिस्त्रोका सञ्चालक र कर्मचारी मिलेर मासुको पैसा लिन गएका एक जनाको हत्या गरेको आफन्तले आरोप लगाएका हुन् ।
मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको पैसा माग्न गएको बेला हत्या गरेको आफन्तले आरोप लगाएका हुन् । मृतकका भाइ मासिदले मासु बिक्रि गरेको पैसा माग्न जाँदा आफ्ना दाजुको हत्या भएको आरोप लगाएका हुन् । करिब २० वर्ष अघिदेखि कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीले विराटनगरमा १० वटा रेष्टुरेन्ट तथा क्याफेहरुमा मासु बिक्रि वितरण गर्दै आएका थिए । गत असार ३ गते विहान बिहान खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे पुगेका थिए । तर, उनको योजनावद्ध हत्या भएकाले आफुहरुले सो क्याफे सञ्चालक खतिवडा र कर्मचारीहरुविरुद्ध कर्तव्य ज्यान मुद्धामा जाहेरी दिएको जानकारी दिए । ‘क्वाफेभित्र छिरेको सिसिटिभि फुटेज देखिन्छ । घटना अघि र पछिको पनि फुटेज देखिन्छ । बिचको काटेको छ ।’ उनले हाम्रो विराटनगरसँग भने ।
उनले सुरुमा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको बताए । किटानी जाहेरी दर्ता भएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको बताए ।
अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ मधुमाला निवासी गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहादा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा किटानीसहित कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन् । ‘उनीहरुले क्याफे बाहिर जानेबेलामा ढोकामा ढोक्किएर घाइते भएपछि अस्पताल पुर्याएको भनेका छन् । तर, जे भने पनि भित्र सिसी टिभी बन्द गरेर निर्घात कुटपिट गरेर मारेको छ । दाजुको अरु कुनै ठाउँमा चोटपटक लागेको छैन,‘उनले भने,‘देब्रे तिघ्रामा मात्र ३ इन्च लम्बाई र १ इन्च गहिरो काटिएकाले नासा काटिएर मृत्यु भएको हो ।’
यता मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । उनले पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपनि घटनाका् कारण खुल्ने बताए । ‘घटनाको प्रकृती हेर्दा हतारमा क्याफेबाट फोनमा कुरा गर्दै बाहिर गएको देखिन्छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘अहिले अनुसन्धान गरिरहेका छौँ ।’
उता क्याफेका सञ्चालक गिरिस खतिवडा भने घटना भएकै दिन काठमाडौं गएको बताइएको छ ।